मंगलवार, 31 जुलाई 2018

कृषि तथा पशु हाटबजार सञ्चालन

जनक श्रेष्ठ/लमजुङ ।

पर्यटकीय जिल्ला लमजुङस्थित सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा कृषि तथा पशु हाटबजार सञ्चालन सुरु भएको छ । स्थानीय उत्पादनको बजारीकरण गर्नका लागि सुन्दरबजार नगरपालिका, स्थानीय, विभिन्न सघंसंस्थाको आर्थिक सहयोगमा हाटबजार सञ्चालन भएको हो ।
जिल्लाका किसानले कृषि तथा पशुजन्य राम्रै उत्पादन गर्दै आएता पनि बजार पाउन नसक्दा निराश बन्दै आएका थिए । तर, उनीहरू यतिबेला आफूले दुःख गरेर उत्पादन गरेका वस्तु हाटबजारमा लगेर बेच्न थालेपछि कृषि तथा पशु उत्पादन पेसामा उनीहरूलाई हौसला मिलेको छ । सुन्दरबजार नगरपालिकास्थित परेवाडाँडाकी भगवती खड्का भन्छिन्, ‘घरगाउँमै उत्पादन गरेको बजार साथै उचित मूल्य पाउन नसक्दा मन भतभती पोल्ने गरेको थियो । अहिले हाटबजार सञ्चालन भएपछि यहाँबाटै राम्रो बिक्री हुन थालेको भन्दै खुसी व्यक्त गरिन् ।’
सुन्दरबजार नगरपालिकास्थित खत्रीठाँटीमा सञ्चालित कृषि तथा पशु हाटबजारमा राखिएको कृषि सामग्री ।

उनीसँगै परिवार मिलेर परेवाडाँडामा डेढ रोपनी जग्गामा व्यावसायिक खेती गर्दै आएकी छन् । उनले गोलभेंडा, खुर्सानी, लौका फलाएर बेच्नलाई तयार गरेकी छन् । विगतमा आफूले उत्पादन गरेको कृषिले बजार नपाउँदा चिन्तित थिइन्, अहिले घरनजिकैको खत्रीठाँटीमा हाटबजार सञ्चालन भएपछि आफूजस्तै धेरै किसानले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादनले उचित बजार र उचित मूल्य पाउने अपेक्षा उनको छ । ‘रात दिन घाम पानी नभनी धेरै दुःख कष्ट र मेहनत गरेर बाख्रा व्यवसाय गरेको छु, कृषि तथा पशुजन्य उत्पादनले बजार पाउन सकेको थिएन, कहाँ लगेर बेच्ने भन्दै भौतारिनुपर्ने बाध्यता थियो,’ उनले भने, त्यहीमाथि पनि हामीले भनेजति मूल्य पाउँदैनथ्यौं, किसान जहिल्यै पनि मर्कामा पर्ने गरेका छन् ।’

उनीजस्तै धेरै कृषि तथा पशु पालक किसान छन् । उनीहरूको समस्या पनि उस्तै हो । अहिले सञ्चालनमा आएको हाटबजारले हराउँदै गएको किसानको खुसी फर्काउने प्रयास गरेको छ । किसानहरूको हितलाई मध्यनजर गरेर प्रत्येक शुक्रबार हाटबजार सञ्चालन गर्नेगरी कृषि तथा पशु हाटबजार सञ्चालनमा ल्याइएको हाटबजार व्यवस्थापन समितिका अध्यक्ष मानसिंह गुरुङले बताए ।

हाटबजार सञ्चालनका लागि सुन्दरबजार नगरपालिकाले सातवटा स्टलसहित एउटा ट्रस्ट निर्माण गरेको छ । सो निर्माणका लागि नगरपालिकाले २ लाख ८० हजार, २८ हजारबराबरको स्थानीयको जनश्रमदान र थप २५ हजार गरी ३ लाख ३३ हजार रुपैयाँ लागेको छ । हाटबजार सञ्चालनका लागि जिल्लामा क्रियाशील सुआहारा लमजुङले ५० हजार रुपैयाँबराबरको सामग्री सहयोग गरेको छ । जसमा क्रेट २० थान, कुर्सी सात थान, टेबुल तराजु पाँच थान र त्रिपाल पाँच थान सहयोग गरेको बताइएको छ । सदरमुकाम बेंसीसहर, सुन्दरबजारलगायतका ठाउँमा हाटबजार सञ्चालन भएता पनि त्यसलाई पूर्णता दिन नसक्दा लामो समयदेखि बन्द भएको छ ।

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें